नियम ७३
मुद्दाको प्रारम्भिक प्रक्रिया र व्यवस्थापन
(१) मुद्दामा प्रतिउत्तर परी दुबै पक्षको तारिख मिलान भएपछि सामान्यतया सात दिनभित्र मुद्दा व्यवस्थापन छलफलको निमित्त पेसी तोकिनेछ।

तर प्रचलित कानुनमा अन्यथा व्यवस्था भएकोमा सोही बमोजिम हुनेछ। (२) कानुन बमोजिम मेलमिलाप वा मध्यस्थता वा अदालतबाहेक अन्य वैकल्पिक उपायबाट मुद्दाको विवाद टुंगो लगाउन सकिने अवस्था छ छैन सो सम्बन्धमा छलफल गरी सोको निस्सा मिसिलमा राखिनेछ।

(३) मुद्दा व्यवस्थापन छलफलमा अदालतबाटै मुद्दाको कारबाही हुनु पर्ने टुङ्गो लागेमा प्रारम्भिक सुनुवाइको निमित्त बढीमा पन्ध्र दिनको पेसी तोकिनेछ र सो पेसीमा मुद्दामा गर्नु पर्ने आवश्यक आदेशलगायतको कारबाही गरिनेछ।

७(४) मुद्दाको सुनुवाइको क्रममा भएका अन्तरकालिन आदेश उपर प्रचलित कानून बमोजिम पुनरावेदन सुन्ने अदालतमा निवेदन परेको कारणले मुद्दाको कारबाही रोकिने छैन।

(५) मुद्दाको प्रारम्भिक सुनुवाइबाट कारबाही हुने विषय टुङ्गो लागेपछि मुद्दामा लागू हुने कार्यविधिअनुसार फैसला गर्नु पर्ने अवधि ननाघ्ने गरी अन्तिम सुनुवाइ हुने मिति इजलासबाट निर्धारण गरी अन्य कारबाहीको निमित्त कार्यतालिका बनाउन रजिस्ट्रार, मुद्दाका पक्ष विपक्ष र कानून व्यवसायीलाई निर्देशन दिनु पर्नेछ। यस्तो कार्यतालिका बनाउँदा पक्षको सुविधा र अदालतमा रहेका मुद्दाको चाप समेतलाई विचार गरी कार्यतालिका निर्धारण गर्नु पर्नेछ।

(६) कार्यतालिकामा अन्य कुराको अतिरिक्त मुद्दाका कारबाही सम्बन्धी देहायका कार्यहरू सम्पन्न गर्ने मिति तोक्नु पर्नेछः

(क) मुद्दाका पक्ष विपक्षले प्रमाण लिखत पेस गर्ने र परस्परमा देखाउने,

(ख) मुद्दाका पक्ष विपक्षले पेस गर्न चाहेका साक्षी र प्रमाण बुझ्ने,

(ग) अदालतले आवश्यक ठानेका अन्य प्रमाण वा विज्ञ बुझी बाँकी कारबाही गर्ने।